रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन
दक्षिण कोरियामा क्रियाशील रामेछापेलीहरूको साझा संस्था ‘रामेछाप सम्पर्क समिति, दक्षिण कोरिया’ को पाँचौं अधिवेशन आज आइतबार २०२६ फेब्रुअरी १५ का दिन भव्य रूपमा सम्पन्न भएको छ। सौलको दर्शन नमस्तेको सभा हलमा आयोजित उक्त अधिवेशनले आगामी कार्यकालका लागि आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानु तामाङलाई चयन गरेको छ भने उपाध्यक्ष पदहरूमा विश्लेषण घिसिङ र विष्णु वि.सी. चयन भएका छन्। त्यसैगरी, संस्थाको समावेशितालाई मध्यनजर गर्दै महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ र अर्को उपाध्यक्ष पदमा सतिस रोकालाई जिम्मेवारी सुम्पिएको छ।
संस्थाको प्रशासनिक तथा आर्थिक पक्षलाई व्यवस्थित बनाउन अधिवेशनले महासचिवमा अशोक भण्डारी, सचिवमा समुन्द्र खड्का, कोषाध्यक्षमा आश्विन कार्की र सह-कोषाध्यक्षमा सबिन बोहोरालाई निर्वाचित गरेको छ। यस्तै, समितिको कार्यसमिति सदस्यहरूमा विकास सुनुवार, धिरज खड्का र अनिल कार्की चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष खड्काले आफ्नो कार्यकालमा दक्षिण कोरियामा रहेका रामेछापेली दाजुभाइ तथा दिदीबहिनीहरू बीचको एकतालाई अझ प्रगाढ बनाउने र जिल्लाको सामाजिक विकासका कार्यमा संस्थालाई सक्रिय रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा कोरियास्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा रामेछापेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।