सात करोड ठगेर श्रीमान् श्रीमती फरार
निजगढ नगरपालिकाका विभिन्न व्यक्ति, सहकारी तथा वित्तीय संस्थाहरूबाट ७ करोड बढी रकम उठाएर एक दम्पती सम्पर्क विहीन बनेका छन्।
सम्पर्क विहीन हुनेमा निजगढ नगरपालिका ९ का निलु भनिने मनिला गौतम र उनका श्रीमान् पप्पु भनिने भुवन भण्डारी रहेका छन्।
विभिन्न व्यक्ति, सहकारी तथा वित्तीय संस्थाहरुको सात करोड भन्दा बढी रकम उठाएर दुवै जना सम्पर्क विहीन भएपछि उनीहरूबाट ठगिएका पीडितहरूले आफ्नो रकम असुल गराइदिन निजगढ नगरपालिका देखि जिल्ला प्रहरी कार्यालय बारासम्म गुहार मागेका छन्।
उनीहरूबाट ठगिएकी निजगढ निवासी कल्पना खरेल भन्छिन् ‘मनिलाले जग्गा खरिद गर्न लागेको भन्दै ऋण मागेकी थिइन्। मैले २०७९ भदौ ८ गते पाँच लाखको चेक उनका श्रीमान् भुवनलाई दिएर पठाएकी थिए। तर उनीहरू त्यो रकम फिर्ता नगरी सम्पर्क विहीन बने।’
समउन्नत महिला बहुउद्देश्यीय सहकारी संस्था निजगढका अध्यक्ष समेत रहेकी पीडित खरेलले आफू जस्ता ६५ जना व्यक्तिहरुबाट छ करोड ५० लाख र वित्तीय संस्था तथा सहकारीहरुबाट ५० लाख असुलेर श्रीमान् श्रीमती देश बाहिर जान सफल भएको गुनासो गरिन्।
हिमचुली साना किसान कृषि सहकारी संस्था, समाधान बचत तथा ऋण सहकारी संस्था, अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थालगायत १६ वटा संस्थाबाट ५० लाख र ६५ जना विभिन्न व्यक्तिहरुबाट छ करोड ५० लाख गरी सात करोड भन्दा बढी रकम ठगी गरी उनीहरू फरार भएकाे खरेलले सुनाइन्।
आफूहरु र वित्तीय संस्थाहरुसँग लिएको रकमको सवा र ब्याज नतिरी मनिला गौतम एका एक सम्पर्क विहीन बने पछि उनलाई देश बाहिर जानबाट रोक्न सुरुमा निजगढ नगरपालिकाकाको न्यायिक समितिमा ठगीको उजुरी दर्ता गराएको उनले बताइन्।
न्यायिक समितिमा ठगी सम्बन्धित उजुरी परे पछि पटक/पटक ती महिलालाई बोलाउनका लागि फोन गर्दा समेत फोन नलागेपछि प्रहरीलाई जानकारी गराएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाले बताएका छन्।
असार २६ गते संस्था र व्यक्तिहरुले अलग/अलग मनिलाको नाममा ठगी गरेको उजुरी दिँदा सो उजुरीमा छानबिन गर्ने क्रममा उनी युएई गएको जानकारी आएको र उनी माथि कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरीको नाममा नगरपालिकाले पत्राचार गरेको निरौलाले बताए।
कुनै काम गर्ने सपना बोकेर सहकारीमा जम्मा गरेको पैसा एक मुष्ट निकाल्न लगाएर मनिलाले आफूलाई ठगेकी अर्का पीडित नारायण शर्माले दुखेसो गरे।
निजगढमा फैन्सीको पसल सन्चालन गर्दै आएकी मनिलाले चिने जानेका व्यक्तिहरू, भएका वित्तीय संस्था तथा सहकारीबाट सात करोड भन्दा बढी रकम उठाई सके पछि २०७९ को मंसिर महिना नै श्रीमानलाई दुबई पठाइन्।
श्रीमान् भुवन भण्डारी दुबई गए पछि दुई महिना जति श्रीमानले कमाएर पठाए पछि सबै जनाको पैसा तिर्ने भनी आश्वासन दिँदै आए पनि मनिलाले आफै २०७९ को माघ महिनाको एक्कासि सम्पर्क विहीन बने पछि हामीहरुले उनीहरुको बारेमा पत्ता लगाउन नगरपालिका देखि जिल्ला प्रहरी कार्यालय सम्म उजुरी दिएको पीडित खरेलले बत्ताइन्।
करोडौँ रुपैयाँ ठगेर भागेका मनिला र भुवनको दुई छोराहरू रहेको र उनीहरू अहिले पनि निजगढमै आफन्तको घरमा रहेको खरेलले बत्ताइन्।
मनिला र भुवनलाई नेपालबाट भगाउने कार्यमा मनिलाका दाई निजगढ निवासी विजय गौतमको ठुलो सहयोग रहेको उनको आरोप छ। दाई विजयको लागि पनि मनिलाले स्थानीयहरुसँग बेला बखतमा ऋण रकम मागेर दिएको रकम समेत पचाउनको लागि विजयले नै बहिनी र भिनाजुलाई दुबई पठाएको आरोप पीडित खरेलले लगाएकी छिन्।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले निजगढ नगरपालिका र स्थानीयहरुबाट करोडौँ ठगेर भागेको मनिला गौतम र भुवन भण्डारीलाई पक्राउ गर्न जाहेरी आएको बताएका छन्।
पीडितहरूसँग हामीले रकम लिएर भाग्ने दुवै जनाको विरुद्धमा ठगीमा मुद्दा लिएर आउन सल्लाह दिएको र पीडितहरूले ठगीमा मुद्दा लिएर आएमा कानुनी प्रक्रिया पुरा गरेर इन्टरपोलको माध्यमले ठगी गरेर भागेकाहरुलाई पक्राउ गरेर ल्याउने बोगटीले बताए।
Scour:nagariknews