नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा बागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकालाई थाङ्काको हब बनाउने विषयमा प्रस्ताव भएको छ ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको संयोजकत्वमा उपकुलपति लालकाजी लामा, गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङ, अग्रज कलाकार तथा सुनापति गाउँपालिकाका उपकुलपति मानबहादुर दोङ र प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरुको उपस्थितिमा गाउँपालिकामा उक्त काम अघि बढाउन सोमबार छलफल भएको हो । प्रतिष्ठानले देशभरका विभिन्न ७ स्थानमा कलाको हब बनाउन योजना अघि सारेको छ ।
गाउँपालिकालाई थाङ्काको हब बनाई थाङ्कामार्फत सो गाउँपालिकालाई देश तथा विदेशमा पहिचान दिलाउने, गाउँपालिकालाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउने र सो गाउँपालिकाले थाङ्काको क्षेत्रमा देशकै प्रतिनिधित्व गर्नसक्ने गरी विकास गर्ने विषयमा समेत परिचर्चा गरिएको थियो ।
यसका सम्बन्धमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न उपकुलपति दोङ संयोजक, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परम्परागत चित्रकला विभाग प्रमुख प्राज्ञ पाल्साङ्मो लामा सदस्य, गाउँपालिकाका वडा नं. ४ का वडा अध्यक्ष डुण्डुप लामा सदस्य, प्रतिष्ठानका प्राज्ञसभा सदस्य निरिमाया लामा सदस्य, गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलबहादुर बम सदस्य रहेको सम्भाव्यता अध्ययन विज्ञ कार्य टोली रहने बताइएको छ । यस टोलीले तोकिएको विषयमा अध्ययन गरी भदौ १५ गतेभित्र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा सुनापति गाउँपालिकामा प्रतिवेदन पेश गर्नेछ । सम्भाव्यता अध्ययन विज्ञ कार्य टोलीको अनुगमन र सुपरिवेक्षण प्रतिष्ठानका उपकुलपति लामा, गाउँपालिकाका अध्यक्ष तामाङ र उपाध्यक्ष गीता विष्ट रहेको टोलीले गर्नेछ । प्रतिष्ठानका अनुसार यसपछि गाउँपालिकामा रहेका ललितकलाका विभिन्न क्षेत्रहरु मुख्यतः थाङ्का कलालाई विस्तार तथा प्रवर्द्धन गर्नका लागि नीतिगत एवम् योजनागत छलफल अघि बढ्दै जानेछ ।
स्रोत: सैलुङ अनलाइन