भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत रविन्द्र जडेजाले यो जानकारी दिएका हुन् । उनले टी–२० विश्वकप जित्नु एउटा सपना पूरा हुनुजस्तो भएको भन्दै माया र साथका लागि समर्थकलाई धन्यवाद दिएका छन् । देशका लागि सधैँ उत्कृष्ट प्रदर्शन गरेको भन्दै जडेजाले क्रिकेटको अन्य फर्म्याटमा पनि यो जारी राख्ने बताएका छन् ।
यसअघि टी–२० विश्वकप उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फाइनल खेलपछिको पत्रकार सम्मेलनमा कप्तान शर्माले यो विदा लिने उपयुक्त समय भएको बताए । भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको हो । आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी-२० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।