लगातार ७ दिन बढ्दा नेप्सेमा १३५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब नाघ्यो

३१ जेठ, काठमाडौं । तीव्र उतारचढाव बीच अन्तिम समयमा सेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधबार सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम आधा घण्टामा तीव्र उतारचढाव देखिएको थियो । उतारचढाव बीच नेप्से १६.४२ अंकले वृद्धि हुँदा २०३७.०६ अंकमा पुगेको छ ।

बुधबार नेप्से १० फागुन यताकै उच्च विन्दुमा पुगेको हो । १० फागुनमा २०८०.३८ अंकमा बन्द भएको नेप्से त्यसपछि घटेर १ जेठको ‘इन्ट्रा–डे’ मा १८०७.५३ अंकसम्म झरे पुनः उकालो लागेको थियो । पछिल्ला ७ कारोबार दिनमा नेप्से लगातार वृद्धि हुँदा १३५ अंक भन्दा बढीको वृद्धि भइसकेको छ ।

‘इन्ट्रा–डे’ मा नेप्से मंगलबारको क्लोजिङ विन्दुबाट ४६ अंक भन्दा माथिले वृद्धि भई २०६७.१० अंकको उच्च विन्दु कायम गर्दा २०१५.१९ अंकसम्म झरेको थियो । करिब ५२ अंकको उतारचढाव भएको नेप्सेमा होटल तथा पर्यटन, विकास बैंक, वित्त कम्पनी, लगानी निर्जीवन बीमा व्यापार उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित लघुवित्त र जीवन बीमा उपसूचकमा वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेर बन्द भएको हो ।

बुधबार अन्य उपसूचक सर्वाधिक २.३५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.७३ प्रतिशत, निर्जीवन बीमा उपसूचक १.५८ प्रतिशत र बैंकिङ उपसूचक १.२९ प्रतिशतले वृद्धि भएका छन् । विकास बैंक उपसूचक सर्वाधिक ०.९६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक र व्यापार उपसूचक ०.७७ प्रतिशत गिरावट भएको छ ।

नेप्से मात्रै नभएर कारोबार रकम पनि पछिल्लो केही दिन यता लगातार बढ्दै गएको छ । मंगलबार ५ माघ २०७९ यताकै बढी रकमको कारोबार भएकोमा बुधबार थप बढेर ५ अर्ब नाघ्दा २८ पुस यताकै उच्च रकमको कारोबार पुगेको छ । बुधबार नेप्सेमा ७९ हजार ४६१ वटा कारोबारमा १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार शिवम् सिमेन्टका सर्वाधिक २८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन डिस्टिलरीको २४ करोड ३४ लाख र नेपाल लाइफको १४ करोड ५६ लाखको कारोबार भएको छ । बुधबार दिनभर नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ९१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ६ कम्पनीको स्थिर छ ।

सम्बन्धित खबर

मन्थलीमा सञ्चालित “क्युट कट युनिसेक्स हेयर एण्ड ब्यूटी पार्लर” को आज विधिवत् उद्घाटन

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशनबाट आदेश खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

रामेछाप बाट नवयुवा (जेन्जी )रेडफोर्स बागमती प्रदेश संयोजक सुदिप खडका प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस

हरिवन सिटी वर्ष २०२६ कालागि अध्यक्षमा जेसी ईश्वर धमला निर्विरोध निर्वाचित

मिस्टर एण्ड मिस आँबुखैरेनी–२०२५ को उपाधि आर्यन र क्रिस्टिनालाई

जेसी जीवन कार्कीको उम्मेदवारीले उठायो एकता र रूपान्तरणको प्रश्न