सदन निश्चित एजेण्डामा हैन, एजेण्डा विहीनतामा दौडियो । पारित गर्नेले नै नियमावली नमानेपछि कसले मानिदिने ? हेक्का रहोस्, सदनको मर्यादा कायम गर्न नसकेको बात आज नभए पनि भविष्यमा समेत लाग्नेछ ।
संविधानसभाले बनाएको संविधान बमोजिमको संघीय संसदको दोस्रो कार्यकालको बैठक चालु छ । जनताद्वारा निर्वाचित वैधानिक संस्था संविधानसभा मार्फत बनेको संसारका कमै मध्येको नेपालको संविधान हो । यही संविधानले नेपाललाई एकैपटक राजतन्त्रबाट गणतन्त्र, एकात्मकबाट संघात्मक, हिन्दु अधिराज्यबाट धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्ष राज्य र असमावेशीबाट समावेशी राज्यमा रूपान्तरण गरेको हो ।
संसदको स्वीकृति विना कर लगाउने र खर्च गर्ने अधिकार छैन भन्ने मान्यताको अनुयायी नेपालको संसद पनि हो । अझ नेपालको सन्दर्भमा त सार्वभौमसत्ताको प्रयोग गर्ने थलोका रूपमा यसलाई लिने गरिन्छ । नेपाली जनतामा निहित रहेको सार्वभौमसत्ताको प्रयोग गर्ने थलो संसद संविधान र सभ्य अभ्यास बमोजिम चलोस् भन्ने अपेक्षा सबैको रहेको हुन्छ । तर यो बीचमा चलेका संसदका बैठकहरू त्यो स्तरका देखिएनन् । संसदमा गर्न हुने र नहुने सबै खाले गतिविधि देखा पर्न थाले ।